प्रकाश सपुतको निर्देशनमा बनेको फिल्म ‘वसन्त’ को गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

फिल्मी फण्डा । प्रकाश सपुतले निर्देशन गरेको पहिलो फिल्म ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा गीत सार्वजनिक गरिएको हो। आगामी चैत्र २२ गते प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतले दर्शकमाझ उत्साह थपेको छ।

गीतका शब्द र संगीत स्वयं प्रकाश सपुतले तयार पारेका हुन् भने आवाजमा उनलाई गायिका शान्ति श्री परियारले साथ दिएकी छन्।
गीतको भिडियोले बागलुङको ग्रामीण जीवनलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यानिमाया, सालैजो, र घाँसदाउराका दृश्यहरूले गीतलाई सांस्कृतिक र संवेदनशील बनाएको छ। भिडियोमा प्रकाश सपुतसँगै स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, र खड्क बहादुर पुन (खबपु) देखिन्छन्।
‘वसन्त’ फिल्मले विपन्न विश्वकर्मा समुदायका एक युवाको लेखक बन्ने सपना र उनको संघर्षलाई मुख्य कथावस्तु बनाएको छ। यो सामाजिक कथानकले नेपाली समाजका विभिन्न पक्षलाई उजागर गर्ने प्रयास गरेको छ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन्। कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली, र विरेन्द्र नारायण श्रेष्ठ छन्। फिल्मको कथा, पटकथा, र संगीत प्रकाश सपुतकै सिर्जना हो भने छायांकन सुसन प्रजापतिले गरेका छन्।
गायक र कलाकारको रूपमा चर्चित प्रकाश सपुतले अभिनय गरेको फिल्म ‘परदेशी-२’ र ‘पूर्णबहादुरको सारङ्गी’ व्यावसायिक रूपमा सफल भएका थिए। अब निर्देशकको भूमिकामा उभिएका सपुतले ‘वसन्त’ बाट नयाँ अनुभव दिन खोजेका छन्।

काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनी ले यो फिल्म वितरण गर्नेछन्।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech