'ममी' को नयाँ पोस्टर सार्वजनिक

फिल्मी फण्डा । समर निरौलाको निर्देशनमा निर्माण भएको फिल्म ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्कीलाई डर मिश्रित भावमा देख्न सकिन्छ, जसका छेउमा कालो बिरालो पनि देखिन्छ।

पोस्टरमा प्रियंका पुरानो घरको अगाडि उभिएकी देखिन्छिन्, र उनको पछाडि रहेको घरको भित्तामा राखिएको फोटो फ्रेममा अभिनेता तथा निर्देशक सुलक्षण भारती र बाल कलाकार आयुषी ढकाल र जेभिस श्रेष्ठको तस्वीर देख्न सकिन्छ। फोटो फ्रेमको काँच फुटेको देखिन्छ, जसले घरमा रहेको नकारात्मक शक्तिले आक्रमण गरेको संकेत गर्छ। निर्माण टिमले यो पोस्टरले दर्शकमाझ फिल्मप्रति कौतुहलता पैदा गर्ने विश्वास लिएको छ।

हरर फ्यामिली ड्रामा फिल्ममा प्रियंकासँगै दीया मास्के र सुलक्षण भारती मुख्य भूमिकामा छन्। समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ। सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ। निर्माता लोक राज जोशी र पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्माता सुमन कोइराला रहेका छन्।

फिल्मको छायाँकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका छन् भने सम्पादन सुरेन महर्जनले गरेका छन्। पार्श्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपी, रंग संयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन्।

फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech