'कुस्ती' का लागि आइआइएफटी भेषभूषा पार्टनर

फिल्मी फण्डा । अभिनेता बुद्धी तामाङको निर्माणमा बन्ने बहुप्रतीक्षित नेपाली चलचित्र ‘कुस्ती’ को भेषभूषा पार्टनरको रूपमा आइआइएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन जोडिएको छ। मंगलवार सम्पन्न भएको एक समारोहमा आइआइएफटीका प्रमुखद्वय सन्नी सुब्बा र उर्जा मानन्धर तथा चलचित्रका निर्देशक अनिल योञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे।

चलचित्र ‘कुस्ती’ मा अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगरले लगाउने पहिरनको डिजाइन आइआइएफटीका २४ विद्यार्थीले गर्नेछन्। निर्देशक अनिल योञ्जनले भने, “हामीले विद्यार्थीलाई चलचित्रको फेशन र डिजाइनसँग जोडेर नयाँ सोच प्रस्तुत गरेका छौं। यसले चलचित्रका पात्रहरूलाई जीवन्त बनाउनेमा पूर्ण विश्वस्त छौं।”

धिरज र मिरुनाले आइआइएफटीसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै, आफ्नो पहिरनबारे विमर्श गरेका छन् र केही पोशाक ट्रायल पनि गरेका छन्। आइआइएफटी प्रमुख सन्नी सुब्बाले यो सहकार्यले चलचित्र र फेशनमा नयाँ सुरुआत गराउने बताइन्।

सो अवसरमा निर्देशक अनिल र कलाकारद्वय धिरज र मिरुनाले आइआइएफटीका विद्यार्थीहरूसँग अन्तरक्रिया गरे। अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रको सार्वजनिक पोस्टरले पनि ठूलो चर्चा पाएको छ। पोस्टरमा कलाकारहरूको स्वभावलाई रंग अनुसार प्रस्तुत गरिएको छ।

अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने चलचित्र ‘कुस्ती’ एक जोडीको प्रेमकथामा आधारित हुनेछ। छुट्न नसक्ने र सँगै रहन नसक्ने जोडीको प्रेमकथा रहेको चलचित्र ‘कुस्ती’ फागुन पहिलो सातादेखि छायाङ्कनमा जाने तयारीमा छ। यो चलचित्र २०८२ सालको भदौमा प्रदर्शन हुने लक्ष्य राखिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech