फिल्मी फण्डा । २०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली सिनेमा 'ऊनको स्वीटर' को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ। प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको 'सेभेन सिज इन्टरनेशनल फिल्म्स' ले अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वका देशहरूसँगै माल्टा र मलेसियाका लागि प्रदर्शन अधिकार लिएको छ।
दक्षिण कोरियामा 'पाँचथर सेवा समाज,' क्यानडामा 'एमजिपी इन्टरटेनमेन्ट,' 'आँगन इभेन्ट,' र 'आई र यू इन्टरटेनमेन्ट' ले प्रदर्शन अधिकार खरिद गरेका छन्। युकेबाहेकका युरोपियन देशहरूमा 'मामा इभेन्टस्' र 'गुरुङ केएनएस इन्टरटेनमेन्ट' ले प्रदर्शन गर्नेछन् भने जापानमा 'सेवा एलएल कम्पनी' ले 'ऊनको स्वीटर' प्रदर्शन गर्नेछन्।
निर्देशक नवीन चौहानका अनुसार, यो सिनेमा नेपालसहित ती सबै देशहरूमा एकसाथ रिलिज हुने छ। सिनेमाको १२ दिनअघि रिलिज भएको गीत 'मखमली' ले युट्युबमा १० दिनसम्म लगातार ट्रेन्डिङको शीर्ष स्थानमा रह्यो। हाल यो गीत करिब ४० लाख भ्यूजसहित नेपालमा दोस्रो स्थानमा छ। यस गीतले नेपालीहरूको उल्लेख्य बसोबास रहेका देशहरूमा पनि ट्रेन्डिङको शीर्ष स्थान प्राप्त गरेको थियो।