फिल्मी फण्डा । नेपाली फिल्म निर्देशक समर निरौलाको डेब्यु निर्देशित फिल्म ‘ममी’को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक गरिएको छ। एसडी योगीको संगीत, हर्क साउदको शब्द रचना र रिकेश गुरुङको एरेञ्जमेन्टमा तयार भएको यस गीतको स्वर समीक्षा अधिकारी र विज्ञानी पराजुलीको रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य अभिनेत्री प्रियंका कार्की र दीया मास्के फिचर्ड छन्, जसको कोरियोग्राफी विक्रिम स्वाँरले गरेका हुन्।
सिनेमाको कथामा परिवारको प्रिय कुकुरको दुखद निधनपछि घरमा कालो बिरालो पाल्ने निर्णय लिईपछि परिवारमा विपत्तिको श्रृंखला शुरु हुन्छ। यस फिल्मले पारिवारिक विगठन र संघर्षको कथालाई प्रस्तुत गरेको छ।
फिल्मको अन्य मुख्य भूमिकामा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती र अन्य कलाकारहरू समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट लगायतको अभिनय रहेको छ।
‘ममी’को लेखन समर निरौला र पूर्णिमा जोशीको रहेको छ, र सिनेमाको निर्माण लोक राज जोशी र पूर्णिमा जोशीले गरेका हुन्। फिल्मको छायांकन निशाल पौडेल र शरद महतोको, सम्पादन सुरेन महर्जनको, र पाश्र्व ध्वनि रोहित शाक्यको रहेको छ।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछन्। ‘ममी’ माघ २५ गते रिलिज हुने योजना रहेको छ।