‘मन बिनाको धन’ मा अशोक दर्जीको डेब्यू, चर्चित कलाकारको लाइनअप

फिल्मी फण्डा ।  गायक तथा संगीतकार टंक बुढाथोकीले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा बाल गायक अशोक दर्जी मुख्य भूमिकामा देखिने भएका छन्।

चलचित्रमा अशोकसँगै सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, रवीन्द्र झा, रमेश विश्वकर्मा, एआर बुढाथोकी, शंकर श्रेष्ठ र साम्राज्ञी थापाको अभिनय रहनेछ। अन्य केही कलाकारहरूको नाम घोषणा हुन बाँकी छ।

निर्माता-निर्देशक बुढाथोकीले चलचित्रको कथा लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार गरेका छन्। सामाजिक विषयवस्तुमा आधारित यो चलचित्रको छायांकन सौरभ लामाले गर्नेछन्।

गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बाट चर्चामा आएका अशोक दर्जीले आफ्नो जीवनमा महत्वपूर्ण मोड ल्याएका थिए। चलचित्र पनि यही शीर्षकलाई आधार बनाएर निर्माण हुने भएको छ।

काठमाडौंमा अध्ययनरत दर्जीलाई सहयोग र अभिभावकत्व प्रदान गर्दै आएका बुढाथोकीले यस चलचित्रमा पनि संगीत दिनेछन्। चलचित्र छिट्टै फ्लोरमा जाने तयारीमा छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech