फिल्मी फण्डा । म्युजिक खबर म्युजिक अवार्डको १२ औं संस्करण सुरु भएको छ। आयोजकले एक विज्ञप्ति जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला भएको जानकारी दिएका छन्।
विसं २०६९ सालबाट निरन्तर रूपमा आयोजना हुँदै आएको यस अवार्डको १२ औं संस्करणका लागि स्रष्टा कलाकारहरूले आफ्ना सिर्जना प्रस्तुत गर्न सक्नेछन्। अवार्डमा राष्ट्रिय भाव, चलचित्र, आधुनिक, लोकदोहोरी, पप र कल्चरल गीत लगायतका ३८ विधामा अवार्ड वितरण गरिनेछ।
“स्तरीय एवं मौलिक सङ्गीतको धार–नेपाली गीत सङ्गीतकार आधार” भन्ने मूल नारा लिएर आयोजना गरिँदै आएको यस अवार्डलाई शुभकामना मिडिया सोलुसनले आयोजना गर्दै आएको हो, र यसमा म्युजिक खबर फाउन्डेसनले सहकार्य गर्दै आएको छ।
गीतसङ्गीत क्षेत्रमा क्रियाशील गायक गायिका, सङ्गीतकार, गीतकार, निर्देशक, मोडल, छायाकार र सम्पादकहरूको लागि प्रोत्साहन र सम्मानको महोत्सवको रूपमा लिइँदै आएको यस अवार्डमा अग्रजदेखि अनुजसम्मका स्रष्टा कलाकारहरूले सहभागिता जनाउँदै आएका छन्।
यस अवार्डमा म्युजिक खबरले विभिन्न विशेष सम्मानहरू पनि प्रदान गर्दै आएको छ, जसमा दीर्घ साधना सम्मान, रजत सङ्गीत सम्मान, दशक सङ्गीत सम्मान, युवा प्रतिभा प्रोत्साहन सम्मान, सङ्गीत पत्रकारिता सम्मान, डायस्पोरा सङ्गीत सम्मान र बाल प्रतिभा सङ्गीत सम्मान समावेश छन्।
स्रोत:- रोतोपाटि