दीपकराज गिरी र सरोज न्यौपानेको सहकार्यमा नयाँ फिल्म घोषणा

फिल्मी फण्डा । अभिनेता दीपकराज गिरी र निर्माता सरोज न्यौपानेले नयाँ फिल्मका लागि सहकार्य गर्ने औपचारिक सम्झौता गरेका छन्। बुधबार भएको लिखित सम्झौतासँगै दीपकले आफ्नै प्रोडक्शन हाउस बाहिरको फिल्ममा काम गर्न लागेको यो पहिलो अवसर हो।

न्यौपानेको अनन्या फिल्म्स ब्यानरमा निर्माण हुने यो फिल्ममा दीपक मुख्य भूमिकामा देखिनेछन्। ‘छक्कापञ्जा ५’ हलमा रिलिज भएको केही महिनामै दीपकले यो फिल्म साइन गरेका हुन्।

फिल्मको छायांकन आगामी बैशाख वा जेठमा सुरु हुने र तिहारको अवसरमा प्रदर्शन गरिने योजना रहेको छ। फिल्मको शीर्षक, निर्देशक र बाँकी कलाकारहरूको चयन प्रक्रिया भने अहिले जारी छ। निर्माता न्यौपानेले भने, “हामी प्रारम्भिक चरणमा छौं। कथा मन परेको छ, तर धेरै कुरा टुंगो लाग्न बाँकी छ।”

फिल्ममा दीपकसँगै निर्मल शर्मा पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। अन्य कलाकारहरूको चयन भैरहेको र टोली ठूलो हुने न्यौपानेले जानकारी दिएका छन्।

दीपक र सरोजको सहकार्यको चर्चा विगत केही वर्षदेखि हुँदै आए पनि अब बल्ल मूर्तरूप लिएको हो। दीपकसहित ‘छक्कापञ्जा’ श्रृंखलाका सदस्यहरू केही समय सिरिज बाहिरका फिल्महरूमा व्यस्त हुने योजना बनाएर अघि बढिरहेका छन्।

यसै क्रममा दीपकले यो फिल्म साइन गरेका छन् भने केदार घिमिरे अनन्या फिल्म्सकै अर्को प्रोजेक्ट ‘जेरी अनटप’ मा काम गर्दैछन्। आमा सरस्वती मूभिजले भने तिहारपछि मात्र अर्को फिल्ममा काम सुरु गर्ने तयारी गरिरहेको छ।

दीपकराज गिरी र सरोज न्यौपानेको सहकार्यले नेपाली चलचित्र क्षेत्रमा नयाँ उचाइ कायम गर्ने अपेक्षा गरिएको छ। दर्शकहरू यो प्रोजेक्टबाट निकै उत्साहित छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech