शेर्पा समुदाय र झाँक्री परम्परामा आधारित ‘कार्साङ’, सामाजिक विषयवस्तुमा केन्द्रित ट्रेलर सार्वजनिक

फिल्मी फण्डा । शेर्पा समुदायको कथामा आधारित यम शेर्पाको पहिलो निर्देशन ‘कार्साङ’ को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता दयाहाङ राई झाँक्रीको भूमिकामा प्रस्तुत छन्। ट्रेलरले समाजको विश्वास, परम्परा, र झाँक्री विद्यामा रहेको रहस्यलाई प्रष्ट्याउँदै आर्थिक संघर्ष र सामाजिक बहिष्कारजस्ता गहिरा विषयवस्तु उजागर गरेको छ।

ट्रेलरले परिवारमा देखिने फाटो, समाजको दबाब, र मुख्य पात्रको स्वाभिमानका लागि गरेको संघर्षलाई गहिरो ढंगले प्रस्तुत गरेको छ। गरिबी र सामाजिक विभाजनका कारण मानिस कसरी आफ्नै समाजबाट अलग्याइन्छ भन्ने मुख्य सन्देश फिल्मले दिन खोजेको छ।

सिनेमामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, र बुद्धि तामाङसहित सृष्टि गौतम, डोमा ह्योल्मो, र अन्य कलाकारहरूको उपस्थिति रहेको छ।
फिल्मको छायांकन र निर्माण पुरुषोत्तम प्रधानले गरेका हुन् भने कथा निर्देशक यम शेर्पाले लेखेका हुन्। सह-निर्माता गोविन्द बोहरा र कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा रहेका छन्।


भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको रङ ग्रेडिङ, र शाहिल खानको ट्रेलर निर्माणले सिनेमालाई उत्कृष्ट बनाउन योगदान पुर्‍याएको छ। नेपालमा फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने अन्तर्राष्ट्रिय स्तरमा हुल्या इभेन्ट्सले यसको जिम्मेवारी लिएका छन्। ‘कार्साङ’ले दर्शकबीच गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech