फिल्म ‘रंगी’ को टिजर सार्वजनिक: बाबु-छोरीको प्रेम र संघर्षको मार्मिक कथा

फिल्मी फण्डा । सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को टिजर सार्वजनिक गरिएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्मको टिजरले बाबु-छोरीको गहिरो माया र संघर्षलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ।

टिजरमा बाबु सलोन बस्नेत र उनकी छोरी आयुषी ढकालको सम्बन्धलाई कथा को केन्द्रबिन्दु बनाइएको छ। छोरीप्रतिको बाबुको बलियो माया, उनको खुसीका लागि गरेको संघर्ष, र परिवारलाई टिकाउन उनले गरेको बलिदानले दर्शकलाई भावुक बनाउँछ। फुड डेलिभरी ब्वाईको भूमिकामा रहेका सलोनले पानीमा भिजेर काम गरेको, छोरीलाई स्याहार सुसार गरेको र घाइते छोरीलाई हातमा बोकेर चिच्याएको दृश्यले टिजरलाई थप प्रभावशाली बनाएको छ।

टिजरमा नम्रता श्रेष्ठ र सलोन बस्नेतबीचको सम्बन्धको झलक पनि देख्न सकिन्छ, जसले कथा थप गहिरो बनाएको छ। खुशी, रोदन, र पीडाको समिश्रणले टिजरलाई भावनात्मक रुपमा बलियो बनाएको छ।

सुरेश न्यौपानेको निर्देशनमा बनेको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहेको छ। अभिनेता सलोन बस्नेतको यो पहिलो निर्माण हो।

फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, र दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत रहेको छ। गीतहरूमा आनन्द कार्की, समीक्षा अधिकारी र सुजता केसीलगायतका कलाकारले स्वर दिएका छन्। बन्दे प्रसादको सम्पादन र कविराज गहतराज तथा शिशिर खातीको कोरियोग्राफीले फिल्मलाई प्राविधिक रुपमा बलियो बनाएको छ।

‘रंगी’ आगामी फागुन २ गते रिलिज हुँदैछ। यसअघि सार्वजनिक दुई पोस्टरले नै फिल्मप्रति दर्शकको उत्सुकता बढाइसकेको छ।

फिल्मका निर्माता सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतम हुन्। यसलाई एप्पल इन्टरटेनमेन्ट, एफडी, र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन्।

‘रंगी’ ले बाबु-छोरीको माया र संघर्षको कथालाई पर्दामा उतार्दै दर्शकको मन जित्ने प्रयास गरेको छ। टिजरले फिल्मप्रति दर्शकको अपेक्षालाई अझ उच्च बनाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech