चलचित्र पत्रकार संघ नेपालको पाँचौँ पूर्ण बैठक सम्पन्न, १३ बुँदे चितवनमा घोषणापत्र जारी

फिल्मी फण्डा । चितवनमा तीन दिनसम्म चलेको चलचित्र पत्रकार संघ नेपालको पाँचौँ पूर्ण बैठक आइतबार सकिएको छ। श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसहित १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै बैठक सम्पन्न भएको महासचिव रघुनाथ सापकोटाले जानकारी दिए।

बैठकले महत्त्वपूर्ण विषयहरूमा छलफल गर्दै निर्णयहरू गरेको छ। संघले प्रत्येक वर्ष जेठ ७ गते स्थापना दिवस र राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाउँदै आएको छ। यस अवसरमा प्रदान गरिने राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान र पुरस्कारका लागि संघले कोष खडा गर्ने निर्णय गरेको छ।

पुस १२ देखि १४ गतेसम्म चलेको बैठकले संघको दोस्रो राष्ट्रिय भेला आउँदो चैतमा गर्ने निर्णय पनि गरेको छ। बैठकका क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँग अन्तरक्रिया गरिएको थियो। मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरूको सम्बन्धबारे अन्तरक्रियामा चलचित्र पत्रकार, सिनेमा हल सञ्चालक, र बोर्ड अध्यक्षको सहभागिता रहेको थियो।

अध्यक्ष डिसीले १०० दिनभित्र सम्पन्न गरेका कार्यहरूको जानकारी गराउँदै मोफसलको पत्रकारिता र हल सञ्चालकहरूको चुनौती र सम्भावनाबारे पनि छलफल भएको थियो।

चितवन घोषणापत्रका मुख्य बुँदा:

१. चलचित्र पत्रकारहरूको हक अधिकारको संरक्षण गर्दै व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्ने।
२. चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोष स्थापनाका लागि च्यारिटी कार्यक्रम सञ्चालन गर्ने।
३. चलचित्र पत्रकारितामा देखिएका विकृति हटाउन मर्यादित र जिम्मेवार पत्रकारिताका लागि अपिल।
४. बिट पत्रकारिताको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग।
५. अनलाइन पत्रिकाहरू र स्वरोजगारमूलक मिडियालाई लोक कल्याणकारी विज्ञापनमा समेट्न सुझाव।
६. प्रस्तावित चलचित्र ऐनलाई प्रभावकारी बनाउँदै तत्काल कार्यान्वयनमा ल्याउन माग।
७. सिनेमा पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारसँग आग्रह।
८. मौलिक र अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्ने चलचित्रलाई प्रोत्साहन र प्रचार गर्न पहल।
९. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनका लागि जोडदार माग।
१०. संघलाई प्रत्येक आर्थिक वर्षमा सहुलियत अनुदान उपलब्ध गराउन सरकारलाई आग्रह।
११. रियल टाइम बक्स अफिस लागू गर्दै सार्वजनिक पारदर्शिता सुनिश्चित गर्न सुझाव।
१२. चितवनका पर्यटकीय क्षेत्रलाई सिनेमा मार्फत प्रवर्द्धन गर्न स्थानीय सरकारलाई सहकार्य गर्न अपिल।
१३. कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संघ-संस्थालाई धन्यवाद ज्ञापन।

यस घोषणापत्रले चलचित्र पत्रकारिताको विकास र सुधारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech