फिल्मी फण्डा । हरर र पारिवारिक ड्रामा मिश्रित फिल्म ‘ममी’को टिजर हालै सार्वजनिक भएको छ, जसमा दीया मास्के, सुलक्षण भारतीय र प्रियंका कार्कीले मुख्य भूमिका निभाएका छन्। टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र समग्र कथ्यलाई राम्रोसँग प्रस्तुत गर्दै दर्शकलाई आकर्षित गर्ने प्रयास गरेको छ।
फिल्ममा घरको प्रिय कुकुरको मृत्युपछि एक कालो बिरालो ल्याइन्छ, र त्यसपछि घरमा घट्न थाल्ने रहस्यमय घटनाहरूलाई टिजरमा देखाइएको छ। यसले दर्शकमा रहस्य र कौतूहलता जगाउने उद्देश्य राख्छ। यसमा थ्रीलरका तत्व पनि छन्। प्रियंका कार्कीको यो दोस्रो हरर फिल्म हो, यसअघि उनले ‘चि मुसी चि’मा अभिनय गरेकी थिइन्।
सुपरहिट फिल्म ‘बोक्सीको घर’का निर्देशक भारती यो फिल्ममा प्रमुख अभिनेताको भूमिकामा छन्। यसमा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ र गीत विष्टको पनि महत्वपूर्ण अभिनय रहेको छ।
फिल्म सो-ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको हो, र यसका निर्देशक समर निरौला हुन्। पटकथा लेखनमा निरौला र पूर्णिमा जोशीको सहकार्य छ। यो फिल्म निरौला को डेब्यु फिचर फिल्म हो।
फिल्मका निर्माता लोकराज जोशी र पूर्णिमा जोशी हुन्, र कार्यकारी निर्माता सुमन कोइराला छन्। छायांकन निशाल पौडेल र शरद महतोले गरेका हुन्, र सम्पादन सुरेन महर्जनको छ।
पाश्र्वध्वनिमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपी, रङ संयोजनमा दीपेश चौधरी र संगीतकार एसडी योगीको योगदान रहेको छ। फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा कुवेर सिने डिस्ट्रीब्यूसनले वितरण गर्नेछन्। ‘ममी’ २५ माघमा प्रदर्शन हुने तय भएको छ।