फिल्मी फण्डा । बलिउड अभिनेता शाहरुख खानका जेठा छोरा आर्यन खान चाँडै नै नेटफ्लिक्स सिरिजबाट निर्देशनमा डेब्यु गर्न लागेका छन् । भर्खरै शाहरुखले यसको आधिकारिक घोषणा गरेका छन् । शाहरुखको घोषणापछि अभिनेत्री कंगनाले अभिनय क्षेत्रमा लागेका स्टारकिड्सको खिल्ली उडाउँदै आर्यनको तारिफ गरेकी थिइन् ।
कंगनाले शाहरुखको घोषणायुक्त पोस्ट पुनः सेयर गर्दै इन्स्टाग्रामको स्टोरी सेक्सनमा लेखेकी छिन्, ‘यो निकै राम्रो कुरा हो कि फिल्मी परिवारबाट आएका बालबालिकाले मेकअप लगाएर, तौल घटाएर, तयार भएर आफू त अभिनेता भइसके भनेर सोच्नेभन्दा बाहिर पनि केही गरिरहेका छन् । हामी सबै मिलेर भारतीय सिनेमाको स्तर उकास्नुपर्छ, किनकि यो समयको आवश्यकता हो । जोसँग संसाधन छ, उनीहरुले प्रायः सजिलो बाटो रोज्छन् ।’
फिल्म उद्योगलाई क्यामेराको पछाडि पनि धेरै मान्छे चाहिएको भन्दै आर्यन खानले धेरै कम मानिस हिडेको बाटो रोजेको पनि उनले पोस्टमा लेखेकी छिन् । फिल्म निर्माता र लेखकको रूपमा उनको डेब्यू आफूले पर्खिरहेको पनि उनले लेखेकी छिन् । नोभेम्बर १९ मा शाहरुख खानले माइक्रो ब्लगिङ वेबसाइट एक्समा छोरोको डाइरेक्टेरियल डेब्यूको घोषणा गरेका थिए ।
‘यो एकदमै विशेष दिन हो, जहाँ जनतासामु नयाँ कथा प्रस्तुत गरिँदैछ । आज यो झनै विशेष छ किनकि रेड चिलिज इन्टरटेनमेन्ट र आर्यन खानले नेटफ्लिक्समा आफ्नो नयाँ शृङ्खला देखाउन लागेका छन् । यसमा कहानी, अराजकता, विभत्य दृश्यहरू र धेरै रमाइलो र इमोशन पनि छन् । अगाडि बढ् र मानिसहरूलाई मनोरञ्जन देउ आर्यन र याद राख कि शो बिजनेस जस्तो कुनै अन्य बिजनेस छैन’ आफ्नो पोस्टमा शाहरुखले लेखेका छन् ।