फिल्मी फण्डा । लेखन र निर्माण नव्याश्रीको रहेको म्युजिकल सर्ट फिल्म महाकाली सार्वजनिक भएको छ। यो कथा देवी महाकालीको उत्पत्तिबाट सुरु हुन्छ। कथाअनुसार, शिवले आफ्नी पत्नी पार्वतीलाई यस्तो राक्षसलाई पराजित गर्न आग्रह गर्छन्, जसलाई एक महिलाले मात्र मार्न सक्छ।
पार्वतीले शिवसँग विलय गरेर महाकालीको रूप धारण गर्छिन्। महाकालीले राक्षसलाई पराजित गर्छिन्, तर उनको आक्रोश नियन्त्रण बाहिर जान्छ, जसलाई रोक्न केवल शिवले मात्रै सक्छन्। महाकालीलाई मातृत्व, स्त्री शक्ति, र रचनात्मकताको प्रतीकका रूपमा चित्रण गरिएको छ।
फिल्मले महिलाहरूलाई कुनै पनि चुनौतीको सामना गर्न सशक्त र निडर रहन प्रेरित गर्छ। नारीलाई आमा, छोरी, गौरी, दुर्गा, लक्ष्मी, र कालीका रूपमा प्रस्तुत गरिएको छ, र नारीको अपमान हुँदा महाकालीको क्रोध प्रकट हुन सक्छ भन्ने सन्देश दिन्छ। फिल्मले कुनै जात, धर्म, वा परम्परालाई लक्षित नगरीकन, केवल सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।
फिल्ममा नव्याश्री, लोमश शर्मा, राजकुमार थापा र प्रकाश कँडेलको मुख्य भूमिका छ। नव्याश्रीले महाकाली र पार्वती दुवैको भूमिका निर्वाह गरेकी छन् भने लोमशले शिवको भूमिका निभाएका छन्। प्राविधिक तर्फ संगीतकारमा श्रीधर अधिकारी र स्वरमा अधिकारीसहित मदन केसी, सुलभ घिमिरे, एलिना चौहान रहेका छन् । यस्तै कोरियोग्राफीमा सुरेश पाण्डे, भीएफएक्समा श्रीकृष्ण श्रेष्ठ, छायांकनमा मदन कश्यप घिमिरे, सम्पादनमा भूपेन्द्र अधिकारी, एसोसिएट निर्देशकमा रामजी राउत रहेका छन् ।
महाकाली फिल्म ओएसआर डिजिटल युट्युब च्यानलमा मङ्गलबार सार्वजनिक भएको हो। भारतको दार्जीलिङकी स्थायी बासिन्दा नव्याश्रीले १४ वर्षको उमेरमै ‘प्लानेट मिस इण्डिया वर्ल्ड २०१८’ को उपाधि जितिसकेकी छन्।
सर्ट फिल्मको मुख्य कलाकारहरूमा नव्याश्री, लोमश शर्मा, राजकुमार थापा, प्रकाश कँडेल, प्रीतिका शर्मा, पूजा गौतम, संजीता भट्टराई, ज्ञान कुमार कटेल, अर्जुन न्यौपानेआदि रहेका छन् ।