फिल्म ‘मृत्युकोष’को नयाँ गीत अमेरिकामा रेकर्डिङ

फिल्मी फण्डा । नेपाली फिल्म ‘मृत्युकोष’ को शीर्ष गीत रेकर्ड गरिएको छ । ‘बेवारिसे हुनु पर्ने लासै हुँदा पनि’ बोलको यो गीत अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बाल्टिमोरमा रेकर्ड गरिएको हो ।

 फिल्मकी निर्मात्री कमला जोशीका अनुसार गीतकार डा. कृष्णहरि बरालको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा गायक रुद्र शेखर शर्माले स्वर दिएका हुन् ।

विभिन्न भाषा तथा जनराका गीतहरूमा आफ्नो आवाज दिँदै आएका गायक शर्माले नेपाली फिल्मका लागि भने पहिलो पटक स्वर दिएका हुन् । यो गीतमा संगीत संयोजन संगीतकार राजेन्द्र बजगाईँको रहेको छ । 

ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त फिल्ममा माधवराज खरेलको लेखन तथा निर्देशन रहेको छ । यो फिल्ममा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दीपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा। राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय देख्न सकिने छ ।

काठमाडौँ, ललितपुर तथा नुवाकोटका विभिन्न स्थानहरुमा पहिलो चरणको छायाङ्कन गरिएको यो फिल्मलाई मुकेश हुमागाइले खिचेका छन् भने उनलाई छायाकार राजन खरेलले साथ दिएका छन् । 

निर्देशक खरेलकै निर्देशन तथा लेखनमा बनेको अर्को चलचित्र चिठ्ठी पनि प्रदर्शनको तैयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech