फिल्मी फण्डा । चर्चित हास्य कलाकार माग्ने बुढा अथार्त केदार घिमिरेका छोरा आशिष घिमिरेले फिल्ममा डेब्यु गर्ने भएका छन । उनले अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ,स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला जस्ता कलाकार जन्माएको फिल्म होस्टेलको तेसो शृंखला ‘होस्टेल ३’बाट डेब्यु गर्ने भएका हुन ।
यो फिल्ममा यसअघि नै प्रमुख भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्। आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए। उनी सो शृङ्खलामा निकै चर्चित थिए।
यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन्। हेना थियटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन्। उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन्। चलचित्र ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन्।
‘होस्टेल ३’को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन्। यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन्। ‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन्। लाइन प्रोड्युसर भेषराज गौतम हुन्।
निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ। भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुँदै छ । यस फिल्मलाई निर्देशक सशान कँडेलले निर्देशन गर्ने छन।