नयाँ ऐन छिट्टै ल्याउन सञ्चार मन्त्रीलाई माग राख्न पुगे कलाकार र पत्रकार संघको टोली 

फिल्मी फण्डा । चलचित्र कलाकारहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसँग नयाँ ऐन छिट्टै ल्याउन माग गरेका छन् । चलचित्र क्षेत्र अहिलेसम्म चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ बाट सञ्चालित रहेको र त्यसले यो क्षेत्रको समस्या समाधान गर्न नसकेको जानकारी समेत मन्त्री गुरुङलाई गराएका थिए ।

वरिष्ठ अभिनेत्री तथा चलचित्र कलाकार कल्याणकारी कोषकी संरक्षक वसुन्धरा भुसालको नेतृत्वमा बिहीबार कलाकारहरूको एक जम्बो टोली मन्त्रालय नै पुगेर मन्त्री गुरुङसँग भेट गरेको थियो । टोलीमा चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, महासचिव सविन श्रेष्ठ,सचिव रामेश्वर बुर्लाकोटी, सदस्य उद्धव भट्टराई,सदस्य सरिता राजोपाध्याय,सदस्य नम्रता खरेल लगायत रहेका थिए ।


उक्त अवसरमा सङ्घका अध्यक्ष निरौलाले स्वदेशी चलचित्रको प्रोत्साहनका लागि विदेशी चलचित्रमा कोटा प्रणाली, ट्याक्स वृद्धि र कलाकर्मीसँग सम्बन्धित सङ्घ संस्थाका लागि अनुदान र समयसापेक्ष ऐन व्यवस्थापनका लागि माग गरेका थिए ।

भेटमा मन्त्री गुरुङले कलाकारको मागको विषयमा आफू सकारात्मक रहेको बताएका थिए । 

त्यस्तै, बिहीबार नै चलचित्र पत्रकार सङ्घ नेपालको एक टोलीले पनि मन्त्री सुब्बासँग भेट गरेको छ । चलचित्र पत्रकार सङ्घका अध्यक्ष समीर बलामीको नेतृत्वमा पुगेको टोलीमा सङ्घका उपाध्यक्ष कुबेर गिरी, सुरक्षा भट्टराई, महासचिव रघुनाथ सापकोटा, सदस्य सिपी जैसी लगायत रहेका थिए । भेटका अध्यक्ष बलामी र उपाध्यक्ष गिरीले वर्तमान समयको चलचित्र पत्रकारिताको अवस्था र समस्याको विषयमा जानकारी गराएका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech