फिल्मी फण्डा । कुनै समयका चर्चित नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको डेब्यु फिल्म ‘एक्टर’को छायाङ्कन सम्पन्न भएको छ । गत वैशाखको अन्त्यबाट पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै छायाङ्कन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायाङ्कन सकिएको हो ।
राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप खड्का, दिव्या रायमाझी, राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।
दिव्याको यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।
अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । फिल्म यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुनेछ ।