फिल्मी फण्डा । फिल्म ‘ह्रस्व दीर्घ’को चौथो सेड्युलको छायाङ्कनका लागि ‘गजनी’का भिलेन प्रदीप रावत र दक्षिण भारतीय फिल्म ‘पुष्पा’का भिलेन सुनिल वर्मा काठमाडौँ आएका छन् । उनीहरुले ललितपुरस्थित इन्टरनेसनल क्लबमा फिल्मको छायाङ्कन गरेका छन् ।
फिल्ममा अभिनेत्री निता ढुङ्गानाको बुबाको भूमिका निर्वाह गरेको बताउँने बलिउड अभिनेता रावतले नेपाली फिल्म अभिनय गर्न पाउँदा खुसी लागेको बताए ।
त्यस्तै फिल्म पुष्पाका भिलेन वर्माले फिल्म ‘ह्रस्व दीर्घ’ले नेपाली र भारतीय फिल्म उद्योगलाई जोड्ने काम गरेको बताए । उनले फिल्म उत्कृष्ट बन्ने बताउँदै नेपाली फिल्म अभिनय गर्न पाउँदा खुसी लागेको सुनाए ।
निता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । फिल्ममा निता, प्रदीप, सुनिलको अलावा हरिहर अधिकारी, ब्रह्मानन्द, अलि, कवीर सिंह दुहान, सञ्चिता लुइँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहनेछ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्मलाई बलिउडका चर्चित छायाकार कवीरलालले छायाङ्कन गरिरहेका छन् । नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा फिल्म रिलिज गर्ने योजना निर्माण पक्षको छ ।