फिल्मी फण्डा – चर्चित मोडल तथा एमबीबीएस अध्ययनरत जिशु कोइरालाले फिल्म ‘अस्ट्रेलियन दुल्हा’ मार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी छिन् । उनी क्यानडामा नै जन्मिएर हुर्किएकी हुन ।
उनले क्यानडामा नै प्लस टु सकेर एमबीबीएस पढेर डक्टर बन्न र हिरोइन बन्ने सपना पुरा गर्न नेपाल आएकी हुन । जुन अनुरुप अहिले उनी एमबीबीएसको तेसो वर्षमा अध्ययनरत छिन भने दर्जनौ म्युजिक भिडियोसँगै फिल्ममा समेत डेब्यु गरेकी छिन ।
उनको डेब्यु फिल्म ‘अस्ट्रेलियन दुल्हा’को यतिबेला छायांकन चितवनमा भइरहेको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा शुभसाइत पूजा गर्दै फिल्मको छायांकन थालिएको हो । चितवनमै एमबीबीएस अध्ययनरत जिशु अध्ययनबाट टाइम म्यानेज गर्दै मोडलिङ गरिरहेकी छिन् । म्युजिक भिडियोकी अब्बल कलाकार जिशुले फिल्ममा पनि उत्कृष्ट अभिनय गर्न प्रयत्न गर्ने बताइन् ।
रेहान मियाको पटकथा र निर्देशन रहेको फिल्मले विवाह गरेर डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जाने र उतै बस्ने युवापुस्ताको पछिल्लो प्रवृत्तिलाई व्यंग्य गर्छ । २५ दिनसम्म चितवनका विभिन्न थलोमा फिल्म छायांकन हुँदैछ ।
फिल्ममा किशोर खतिवडा, प्रवीण आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अञ्जन शर्मा, केदार दवाडी, श्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय हुनेछ । अभिनेता खतिवडाको पछिल्लो फिल्म ‘वानर सेना’ एक वर्षअघि रिलिज भएको थियो ।
करुणा फिल्म्स तथा म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘अष्ट्रेलियन दुल्हा’मा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवि कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सहनिर्माता छन् ।