फिल्मी फण्डा। फिल्म ‘एक्टर’को हाल धमाधम छायाङ्कन भइरहेको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्वय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन् ।
पोखरामा १० दिन छायाङ्कन सक्काएर टिमले काठमाडौँको सेड्युलमा विगत केही सातादेखि व्यस्त छ। थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो फिल्मको टिमले नायक प्रदीपलाई छायाङ्कन सेटमा ‘भ्यानिटी भ्यान’ उपलब्ध गराएको छ ।
विशेषतः भ्यानिटी भ्यान फिल्मको छायाङ्कनका लागि महत्त्वपूर्ण मानिन्छ । सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि यो भ्यान प्रयोग गरिन्छ । बलिउड र हलिउडका कलाकारहरूले छायाङ्कन सेटमा व्यक्तिगत भ्यानिटी भ्यान प्रयोग गर्दै आएका छन् । तर, नेपालमा भने भ्यानिटी भ्यानको प्रचलन खासै छैन ।
जानकारहरूका अनुसार बालाजु ल्याबमा यस्तै भ्यानको प्रयोग दुई वर्ष गरिएको थियो । तर, यसपटक भने फिल्मका निर्माता थमन कुमार भण्डारीले नायक खड्काका लागि ‘भ्यानेटी रुम’ उपलब्ध गराएका हुन् । फिल्मको लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन् । ‘भ्यानिटी रुम’लाई नेपालमा नै तयार पारिएको हो ।
यो फिल्म आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने फिल्ममा नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ । फिल्मका निर्देशक राजन भुसाल हुन्।