प्रिमियरमा तारिफ बटुलेको फिल्म 'बाटो-रोड टु डेथ' आजबाट हलमा, कस्तो पाउला दर्शकको  प्रतिक्रिया ?

फिल्मी फण्डा । प्रचारमा कम सक्रिय भएको गोर सिनेमा 'बाटो-रोड टु डेथ' ले प्रिमियरमा भने मन जितेको छ। प्रिमियरमा सहभागीहरुले सिनेमा प्राविधिक रुपमा उत्कृष्ट बनेको भन्दै तारिफ गरे। डेब्यू निर्देशक मदन थापाले निक्कै नै परिपक्व मेकिङ गरेको अधिकाशंको प्रतिक्रिया थियो।

नेपाली सिनेमाका लागि गोर शैलीको सिनेमा फरक हो। यसले नेपाली दर्शकलाई नयाँ स्वादसँग परिचित गराउने प्रतिक्रिया प्रमियरमा सहभागीहरुको थियो। सिनेमामा मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको छ। सिनेमाले मौसमका कारण प्लेनमा उड्न नपाएको मञ्जिल नामको पात्र तथा मुटु ट्रान्सप्लान्टका लागि मुटु बोकेर सडक मार्गबाटै धरान गइरहेकी नर्स पात्रलाई केही अन्धविश्वासी हिस्रंक तान्त्रिक समूहले हमला गरेपछिको कथा थ्रिलर अन्दाजमा पेस गर्छ।
सिनेमा हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले सिनेमा प्राविधिक रुपमा उत्कृष्ट भएको प्रतिक्रिया दिए ।  ‘प्राविधिक रुपमा यो फिल्म उत्कृष्ट छ । सिनहरु एकदमै डरलाग्दो छ । थ्रिल मन पराउनेलाई यो फिल्म उपयुक्त छ ।’, उनले भने।
यसैगरी निर्देशक तथा संचारकर्मी दिनेश डिसीले आफूलाई फिल्ममा प्रयोग गरिएको ‘एफपीभी’ ड्रोन रेसिङ अद्भूत लागेको भन्दै फिल्म उत्कृष्ट बनेको बताएका थिए भने अभिनेता राजाराम पौडेलले पनि फिल्मको प्राविधिक पक्ष उत्कृष्ट लागेको बताए। उनले कलाकार र निर्देशकको कामको तारिफ गरे।‘अहिलेसम्म नेपालमा बनेका फिल्ममध्ये यो एकदमै नयाँ जनराको छ,’ उनी भने, ‘यो फिल्म टेक्निकली रुपमा अब्बल छ । र, निर्देशकले हरेक कलाकारबाट निचोरेर काम निकाल्नुभएको छ ।’ 


यस्तै अभिनेत्री उषा रजकले सिनेमाको मेकिङ हलिउडस्तरको लागेको बताइन। उनले यस्तो जनरामा हलिउडका सिनेमालाई मानिन्छ भने बाटो पनि त्यही स्तरको भएको बताएकी थिइन्।

सिनेमालाई चन्दन झाले निर्माण गरेका हुन्। तमिल सिनेमाका प्राविधिकहरुले काम गरेको यो सिनेमाको कथा तथा सम्पादक निर्देशक थापा नै हुन्।


सिनेमाको पोस्टप्रोड्क्सनको काम पनि भारतमै गरिएको हो। आजबाट हलमा रिलिज भएको यस चलचित्रले दर्शकको कस्तो  प्रतिक्रिया पाउला त्यो भने हेर्न बाँकी छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech