आजबाट हलमा ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’

फिल्मी फण्डा । आज(शुक्रबार) तीन विदेशीसहित दुई घरेलु फिल्म प्रदर्शन हुँदैछन् । नेपाली फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ रिलिज हुँदैछन् भने जापानको ‘हाइक्यूः डम्प्सटर ब्याटल’, भारतको ‘मुन्ज्या’ र विल स्मिथ स्टारर हलिउडको प्रतीक्षित ‘ब्याड ब्यायजः राइड अर डाइ’ छन् ।

नवीन सुब्बा निर्देशित र दयाहाङ राईको शीर्ष भूमिका रहेको ‘गाउँ आएको बाटो’को ओपनिङ यसको ‘वर्ड अफ माउथ’मा निर्भर हुनेछ । दयाहाङका पछिल्ला फिल्मको व्यावसायिक नतिजा हेर्दा यो फिल्म चल्नैपर्ने दबाब उनीसामु छ ।

साम्राज्ञी शाह स्टारर ‘लण्डन टु पेरिस’ले पनि सुखद शो प्राप्त गरेको छ । तर शोलाई अकुपेन्सीमा बदल्नु मुख्य चुनौती हो । यो फिल्मको एड्भान्स टिकट बिक्री पनि १० प्रतिशतभन्दा न्यून छ ।

घनश्याम लामिछाने निर्देशित फिल्मको व्यावसायिक भविष्यको दिशानिर्देश यसको ओपनिङले केही हदसम्म तय गर्नेछ ।

विदेशी फिल्मको कुरा गर्दा नेपालमा हलिउड स्टार विल स्मिथका अघिल्ला फिल्म चलेका पनि हुन् । ‘ब्याड ब्वाय’बाट उनी कमब्याक गर्दैछन् । तर पछिल्लो समय उनको स्टारडम ओरालो लागेको अवस्था छ । यस्तोमा यो एक्सन फिल्म रिलिज हुँदैछ ।

‘ब्याड ब्वाय’ले सहरी क्षेत्रका सीमित मल्टिप्लेक्समा पहिलो सप्ताहन्त राहतपूर्ण कमाइ गर्नसक्ने अनुमान छ । जापानी फिल्म ‘हाइक्यू’ सीमित हल र फ्यानबीच प्रदर्शन हुनेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech