फिल्मी फण्डा । फिल्म ‘ज्वाइँ साब’को यतिबेला मकवानपुरको चित्लाङको विभिन्न स्थानमा छायाङ्कन भइरहेको छ । छायाङ्कनकै क्रममा फिल्ममा कलाकारको रूपमा इशान राउत जोडिएका छन् ।
विगतमा हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल–कलाकार ‘जिरे’को रूपमा अभिनय गरेपछि इशानको चर्चा निकै चुलियो । आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिनेका थिए ।
तर, उनी लामो समयदेखि मिडियामा देखिएका थिएनन् । अब उनी वसन्त निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ज्वाइँ साब’मा देखिँदै छन् ।
रोचक कुरा त के छ भने, यो फिल्मको शीर्ष भूमिकामा जितु नेपालले अभिनय गरिरहेका छन् । जितुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए । फिल्ममा उनलाई र जितु नेपाललाई एकसाथ देख्न सकिनेछ ।
२० दिन चित्लाङको छायाङ्कनपछि निर्माण पक्ष सौराहा र इलाम पुग्नेछ । फिल्ममा जितुको जोडीको रूपमा नीति शाह रहेकी छन् ।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ । फिल्ममा बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्मको बिजय बस्याल कार्यकारी निर्माता हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।