फिल्मी फण्डा । निर्देशक लक्ष्मण सुवेदीको निर्देशन रहेको फिल्म ‘सतीदेवी’को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी साउन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने फिल्मको पोस्टर निर्माण युनिटले सोमबार सार्वजनिक गरेको हो।
पोष्टरमा फिल्मको शीर्ष भूमिकामा रहेकी अभिनेत्री मलिका महतले नवजात शिशुलाई स्तनपान गराइरहेकी छिन् । पोस्टरमा ‘छोरी पुजौँ छोरी बुझौँ यिनै संसार सारा’ उल्लेख समेत गरिएको छ ।
फिल्ममा मलिकाको अलवा सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको लेखन, गीत, निर्माण समेत सुवेदीकै हो ।
निर्देशक, निर्माता सुवेदीले ‘सतीदेवी’ आफ्ना स्वर्गवासी आमा–बाको सम्झनामा समर्पित गरेका छन् । फिल्मले सौराहा दक्षिण एसियाली फिल्म फेष्टिबलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा तेस्रो नेपाल ग्रामीण फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रिप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितेको थियो ।