सकियो धीरज र उपासनाको फिल्म ‘खुस्मा’को छायांकन

फिल्मी फण्डा। धीरज मगर र उपासनासिंह ठकुरी अभिनित फिल्म ‘खुस्मा’को छायांकन सम्पन्न भएको छ । पूर्वी रुकुम र कास्कीका विभिन्न स्थानमा यसको छायांकन गरियो ।

मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले माओवादी सशस्त्र युद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एम मिडियाको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापाले गरेका हुन् ।

डकुमेन्ट्रीमा व्यस्त थापाको यो पहिलो निर्देशकीय फिचर हो । निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् । सहनिर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।

मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ । माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्ममा एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना छ । यो फिल्म असोज ३ गतेदेखि प्रदर्शन तयारीमा छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech