विपिन कार्की र मिरुना मगर स्टारर फिल्म ‘ऊनको स्वीटर’ जेठ १५ देखि छायांकनमा जाने

फिल्मी फण्डा । आर्टमाण्डुले निर्माण गर्ने फिल्म ‘ऊनको स्वीटर’को छायांकन जेठ १५ गतेदेखि सुरु हुने भएको छ । पाँचथरका भिन्न स्थानमा यो फिल्मको छायांकन हुनेछ ।

नवीन चौहानले निर्देशन गर्ने यो फिल्मलाई काठमाडौंमा शाहीको काफिया फिल्म्स र मोफसलमा कुवेर सिनेले वितरण गर्ने भएको छ । निर्माता र वितरण कम्पनीबीच यसैसाता वितरणको सहमति भएको छ ।

वितरक फाइनल भएसँगै विपिन कार्की र मिरुना मगर स्टारर फिल्मको सुटिङ हुनेछ । सुरुमा लोकेसन र अन्य कलाकारको दृश्य खिचिने र असार मध्यदेखि विपिन र मिरुनाले सेट ज्वाइन गर्ने योजना रहेको छ ।

तीन महिनाअघि फिल्मको टाइटल गीत ‘फूल’को पूर्ण अंशसँगै विपिन र मिरुनाको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो । फिल्ममा माओत्से गुरुङ, सुरज तमु, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपांगी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय हुनेछ ।


फिल्ममा सुजन चापागाईं र कोविद बज्रको संगीत रहनेछ भने हर्क साउदको गीत रचना हुनेछ । फिल्ममा झुमा लिम्बूको पनि एउटा गीत छ । चिन्तनराज भण्डारीले फिल्म खिच्नेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech