कान्स फिल्म फेस्टिभलमा सहभागि हुन फ्रान्स जाँदै बालेन

फिल्मी फण्डा । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह फ्रान्समा आयोजना हुने कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् । कान्समा सहभागिता जनाउन बालेन सोमबार राति नै दुई जना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गर्दैछन् ।

महानगर प्रमुख बालेनसँग कुमार व्यञ्जनकार र सुनिल लम्साल पनि फ्रान्स जाने भएका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा फ्रान्स जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउने कार्यक्रम छ । बालेनले त्यो अवधिमा फेस्टिभलका विभिन्न गतिविधिहरूमा सहभागिता जनाउने बताइन्छ । मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उनको भेटवार्ता समेत हुँदैछ । 

बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको समेत आयोजना गरिने बताइन्छ । बालेनले कान्स फिल्म फेस्टिभलको क्रममा अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्ने कार्यक्रम पनि तय भएको छ । 

यसअघि, गत वर्षको कात्तिक महिनामा युनेस्कोले नेपालको संघीय राजधानी  काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचीकृत गरेको छ । फ्रान्सको कान्स पनि फिल्मको क्रिएटिभ सिटीको रूपमा सूचिकृत भएको सहर हो ।  त्यसैले कान्सका मेयरले बालेनलाई पठाएको निमन्त्रण पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसरको रूपमा उल्लेख गरेका छन् । 

भोलि १४ मे अर्थात जेठ १ गतेदेखि २५ मे अर्थात जेठ १२ गते शनिबारसम्म आयोजना हुने कान्स फिल्म फेस्टिभलमा नेपालमा छायांकन भएको फिल्म ‘द सेमलेस’ अन रिगार्ड विधा तथा नेपाली भाषाको फिल्म ‘‘ताराः  अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech