फिल्मी फण्डा । अभिनेता विपिन कार्की र अभिनेत्री वर्षा राउतले अमेरिकामा फिल्म ‘तेलभिसा’को छायांकन थालेका छन् ।
मेरिल्याण्ड राज्यको बाल्टीमोर सहरबाट सुरु छायांकनको निर्देशन शंकर घिमिरेले गरिरहेका छन् । सुसन प्रजापतिले छायांकन गरिरहेको यो फिल्मको शुभसाइत शुक्रबार गरिएको थियो । लगत्तै छायांकन सुरु भएको हो ।
विपिन र वर्षासहित ऋचा घिमिरेको समेत अभिनय रहने फिल्मको छायांकन अमेरिकाका एक महिना चल्नेछ । निर्देशक घिमिरेको यो कमब्याक फिल्म समेत हुनेछ । उनी निर्देशित ‘तुलसी’ सन् २०१९ मा रिलिज भएको थियो । त्यसअघि उनले ब्रेकफेल, वीरताको चिनो र विष निर्देशन गरेका थिए ।
‘तेलभिसा’को कुरा गर्दा यो फिल्ममा गौरी मल्ल पनि मुख्य भूमिकामा छिन् । छायांकनको लागि गौरी पनि अमेरिका जाने जनाइएको छ । यो फिल्मको निर्माण वेलडन क्रिएसनको व्यानरमा भइरहेको छ । ७० प्रतिशत छायांकन अमेरिका र बाँकी नेपालमा हुने जनाइएको छ ।