फिल्मी फण्डा । सन् २०१५ मा रिलिज भएको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’ र २०१२ मा रिलिज भएको अक्षय कुमारको फिल्म ‘राउडी राठौर’को सिक्वेलको अपडेट बाहिर आएको छ । यी दुई चलचित्रको काम छिट्टै सुरु हुने निर्माता केके राधामोहनले एक कार्यक्रममा जानकारी दिए । चलचित्रको स्क्रिप्ट तयार भइसकेको छ ।
हालै हैदराबादमा आयोजित फिल्म ‘रुस्लान’ को प्रमोशनल कार्यक्रममा निर्माता राधामोहनले यस्तो बताएका हुन् । यी दुवै फिल्मको स्क्रिप्ट राजामौलीका पिता विजयेन्द्र प्रसादले लेखेको राधामोहनले बताए ।
निर्माताले भने, ‘लेखक विजयेन्द्रप्रसादले मेरो लागि दुईवटा कथा लेखेका छन् । एउटा हो ‘विक्रमकुडु–२’, जसको हिन्दी सिक्वेल ‘राउडी राठौर–२’ नामबाट बन्नेछ । यसको कथा तयार छ र हामी छिट्टै यसको कास्टिङको काम सुरु गर्नेछौँ।’ यस अवसरमा उनीसँगै लेखक विजयेन्द्र प्रसाद पनि उपस्थित थिए ।
‘बजरंगी भाइजान’को सिक्वेलको बारेमा कुरा गर्दै उनले फिल्मको दोस्रो भागको स्क्रिप्ट पढिसकेकाले छिट्टै सलमानलाई भेटेर यसको कथा सुनाउने बताए । यसअघि २०२१ मा फिल्म ‘आरआरआर’ को प्रमोशनल इभेन्टमा सलमानले ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने पक्का गरेका थिए ।