फिल्मी फण्डा । प्रभासको आगामी फिल्म कल्कि २८९८ एडी यतिबेला चर्चामा छ । लामो समयदेखि फ्यानहरू यो फिल्मको प्रतिक्षामा थिए । समयमै यो फिल्म रिलिज गर्न सकियोस् भनेर निर्माताहरु विगतदेखि निकै मेहनत गरिरहेका छन् ।
हालै इटलीमा फिल्ममा प्रभास र दिशा पटानीको रोमान्टिक गीतको छायाङ्कन गरिएको थियो । यो साइन्स फिक्सन फिल्मको निर्देशन नाग अश्विनले गरिरहेका छन् । यस फिल्ममा कमल हसनलाई पनि देख्न पाइनेछ ।
फिल्ममा कमल हसनले खलपात्रको भूमिका निर्वाह गर्नसक्ने अनुमान गरिएको थियो । तर हालै एउटा अन्तरवार्तामा कमल हसनले यस मेगा बजेट फिल्ममा आफू अतिथि भूमिकामा मात्रै देखिने बताएका छन् । उनको यो अभिव्यक्तिपछि फिल्ममा उनको भूमिकाबारे अनेकौ अनुमान आइरहेको छ ।
कल्कि २८९८ मा प्रभास पहिलोपटक सुपर हिरोको भूमिकामा देखिँदैछन् । यो फिल्ममा नाग अश्विनले के नयाँ गर्नेछन् भन्ने उत्सुकता पनि फ्यानहरुको मनमा उठेको छ । यस साइन्स फिक्सन फिल्ममा अमिताभ बच्चन दिशा पटानी, राजेन्द्र प्रसाद र पशुपति जस्ता चर्चित कलाकारहरू पनि महत्वपूर्ण भूमिकामा देखिँदैंछन् । फिल्म यहि वर्ष मे ९ मा रिलिज हुँदैछ ।