फिल्मी फण्डा । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन र जीवनमा आवश्यक पर्ने चिजहरूको सुन्दर प्रस्तुति नै कला भएको बताएका छन् । उनले भिन्न तरिकाले जीवन बाँच्नका लागि कला चाहिने बताएका हुन ।
सातौँ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को दोस्रो दिन शुक्रबार ‘सिनेमा संवाद शीर्षक’ मा अभिनेता राजेश हमालसँग कुरा गर्दै ओलीले जीवन नै कला भएको बताए । ‘वास्तवमा जीवन भनेकै कला र आर्टसँग सम्बन्धित छ । मानव सभ्यताले प्रगति गर्यो भन्नु एक किसिमले कला सिक्यो भन्नु हो’, उनले भने– ‘जीवनको विकासमा सिक्ने कलादेखि बाँच्नका लागि गर्ने सबै क्रियाकलाप कला हो ।’ मानिस जस्तो चेतनशील प्राणीका लागि कलाको एकदमै महत्त्व रहेको उनको धारणा रहेको छ ।
‘हरेक जीवनसँग कलाको महत्त्व हुन्छ । जीवनसँग, जैविक प्रवृत्ति बाँच्ने प्रवृत्ति, इच्छाबाट कला सुरु हुन्छ’, उनले अगाडि भने, ‘जीवनको इच्छाअनुसार सुरु हुन्छ । त्यसलाई जीवनका सुखहरू, मनोरञ्जन र आनन्दसँग विकास गर्ने कुरोमा सम्बन्धित हुन्छ ।’ उनले कुनै पनि वस्तुलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नु पनि एउटा कला भएको बताए ।