फिल्मी फण्डा । नेपाल टेलिकमले मुलुकको हास्यव्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरेका थिए । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्त्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास गरिन् ।