फिल्मी फण्डा। षट्कोण आर्ट्सको आगामी फिल्म ‘महाजात्रा’ले ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । फागुन २१ गतेदेखि दुई चरणमा उक्त प्रवर्द्धन अभियान आयोजना हुने प्रेषित विवरणमा उल्लेख छ ।
हलमा फिल्म रिलिज हुनुअघि विभिन्न सहरमा पुगेर दर्शक भेट्ने उद्देश्यअनुसार महाकमेडी यात्रा हुन लागेको हो ।
निर्माता खत्रीसहित कलाकारहरु हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र वर्षा राउत पनि भ्रमणमा संलग्न हुनेछन् ।
हास्य कलाकारको तर्फबाट दीपाश्री निरौला, सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगी पनि हुनेछन् । उनीहरुले रोड शोमार्फत मनोरञ्जन दिने जनाइएको छ ।
निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको यो फिल्म ‘जात्रा’को तेस्रो श्रृंखला हो । यसअघिका अघिल्ला दुई भागले व्यावसायिक सफलता हासिल गरेका थिए ।
तेस्रो श्रृंखलामा हरिवंश थपिएका छन् । अन्य कलाकार पनि यथावत् छन् । पैसा लुकाउँदा आइपर्ने परिस्थितिमा तेस्रो श्रृंखलाको कथावस्तु आधारित छ । चैत ९ गते यो फिल्म नेपालसहित एकैसाथ विदेशमा समेत रिलिज तयारीमा छ ।