फिल्मी फण्डा । आमिर खानको फिल्म ‘दंगल’मा बाल कलाकारको भूमिका निभाएकी अभिनेत्री सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानीको केही दिनदेखि फरीदाबादमा उपचार भइरहेको थियो ।
केही दिनअघि मात्रै उनको खुट्टा भाँचिएको थियो । उपचारका लागि लिइरहेको औषधिको प्रतिक्रियाका कारण सुहानीको पूरै शरीर पानीले भरिएको थियो । यही प्रतिक्रियाका कारण शुक्रबार साँझ उनको मृत्यु भएको हो । सुहानीको सेक्टर १५ फरीदाबादस्थित अजरौंडा श्मशान स्थलमा अन्तिम संस्कार गरिनेछ ।
सुहानीले ‘दंगल’ मा आमिर खानकी कान्छी छोरी जुनियर बबिता फोगाट को भूमिका निभाएकी थिइन् । यो फिल्मबाहेक उनी केही टिभी विज्ञापनमा पनि देखिएकी थिइन् । तर, पछि उनले कामबाट ब्रेक लिएर पढाइ पूरा गर्ने निर्णय गरिन् । उनले धेरै अन्तर्वार्तामा पढाइ सकेर फिल्ममा फर्किने बताएकी थिइन् ।