फिल्मी फण्डा । यतिबेला बलिउड क्वीन कंगना रनौत चर्चामा छिन् । उनी नयाँ फिल्म ‘इमर्जेन्सी’का कारण चर्चामा छिन् । यो फिल्ममा उनी भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिँदैछिन् । हालै कंगना तेलुगु फिल्म ‘रजाकार’को ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा देखिएकी थिइन् । यसै क्रममा अभिनेत्रीलाई ‘मनमा कहिले देशको प्रधानमन्त्री बन्ने सोच आएको छ कि ?’ भनेर सोधिएको थियो । यो प्रश्नको जवाफ उनले रमाइलो शैलीमा दिएकी थिइन् ।
ट्रेलर सार्वजनिक कार्यक्रममा कंगना रनौतले भनिन्, ‘मैले भर्खरै इमर्जेन्सी नाम गरेको फिल्म गरेकी छुँ । यो फिल्म हेरेपछि म प्रधानमन्त्री बनोस् भन्ने कसैले चाहँदैन ।’ यति जवाफ दिएर उनी ठूल्ठूलो स्वरले हाँस्न थालिन् । ‘इमर्जेन्सी’ कंगना रनौतको एकल निर्देशनमा बनेको पहिलो चलचित्र हो । यो फिल्ममा मुख्य भूमिका कंगनाकै छ । फिल्ममा उनको लुक सार्वजनिक भएको छ । यो चलचित्र छिट्टै हलमा आउनेछ ।
कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ गएको नोभेम्बर २४ मै रिलिज हुने तय भएको थियो तर पछि यसको रिलिज डेट सारियो । अब भने यो चलचित्र यही जुन १४ मा हलमा आउँदैछ । यो फिल्ममा अनुपम खेर, महिमा चौधरी, मिलिन्द सोमन, श्रेयस तलपडे र स्वर्गीय अभिनेता सतीश कौशिक महत्वपूर्ण भूमिकामा देखिनेछन् । यसअघि कंगना रनौतको ‘तेजस’ फिल्म रिलिज भएको थियो । तर फिल्मले बक्स अफिसमा खासै व्यापार गर्न सकेन ।