भारत आफ्नो कर्मभूमि हुने बताएकी मेनुकालाई बलिउड फिल्ममा गीत गाउने मौका

फिल्मी फण्डा । ‘इण्डियन आइडल’ फेम्ड नेपाली गायिका मेनुका पौडेलले संजय मिश्रा स्टारर ‘कर्मा मिट्स किस्मत’बाट पाश्र्वगायिकाको रुपमा बलिउड डेब्यु गर्ने भएकी छन् ।

भारतीय समाचार संस्था आइएएनएसले आइतबार जनाएअनुसार यो फिल्मलाई गीताञ्जली सिन्हाले लेखन तथा निर्देशन गर्नेछिन् ।

यो फिल्ममा चर्चित अभिनेता मिश्रासहित फरिदा जलाल, अल्का अमिन, वैष्णवी म्याकडोनाल्ड, अम्मन खान र नुपुर शर्माको अभिनय रहनेछ । यो फिल्ममा सोनु निगम र साधना सरगमले पनि गीत गाउनेछन् ।

मेनुकाले यसअघि ‘सलार’बाट दक्षिण भारतीय फिल्ममा पाश्र्वगायिकाको रुपमा डेब्यु गरेकी थिइन् । ‘कर्मा मिट्स किस्मत’ उनको दोस्रो भारतीय प्रोजेक्ट हुनेछ ।

उक्त समाचारका अनुसार यो फिल्मका लागि मेनुकाले गीत रेकर्ड गराइसकेकी छन् । 

गीतका लागि मेनुकालाई रोज्नुको कारण बताउँदै निर्देशक सिन्हाले भनिन्, ‘मेनुकाको स्वरमा रहेको इमान्दारिता र शुद्धताले मलाई चुम्बकझैँ उनीतिर तान्यो । यही कारणले गर्दा उनी विश्वभरका करोडौंको मन छुन्छिन् ।’

मेनुका यतिबेला काठमाडौंमा छिन् । गतसाता इण्डियन आइडलको उत्कृष्ट १० को प्रतिस्पर्धाबाट उनी बाहिरिएकी थिइन् । उनले अप्रिलदेखि अमेरिका, बेलायत, मौरिसस, दक्षिण अफ्रिका लगायतका मुलुकमा टूर गर्ने बताएकी छन् । उनले आगामी दिनमा भारत आफ्नो कर्मभूमि हुने समेत बताएकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech