घरमा पानि चुहिन थालेपछि प्रियंका चोपडा र निक जोनस अमेरिकास्थित भव्य बंगला छाड्न बाध्य

फिल्मी फण्डा । प्रियंका चोपडा र निक जोनसले अमेरिकाको लसएन्जलसस्थित आफ्नो घर छाड्नुपरेको छ । यो बंगला यो जोडीले सन् २०१९ मा करिब २ करोड डलरमा किनेका थिए । रिपोर्टका अनुसार घरमा पानी चुहावटले क्षति पुर्‍याएपछि उनीहरुले कठिनाइको सामना गर्नुपरेको थियो । जसले गर्दा घरमा ओसिलोपन देखिन थालेको थियो । यस विषयमा उनीहरुले प्रोपर्टी डिलरविरुद्ध मुद्दा समेत दायर गरेका छन् ।

यो घरमा प्रियंका आफ्ना पति निक जोनस र छोरी मालतीसँग बस्दै आएकी थिइन् । यो विलासी घरमा ७ शयनकक्ष, ९ बाथरुम, तापमान नियन्त्रित वाइन सेलर, शेफको किचन, होम थिएटर, बलिङ्ग गल्ली, स्पा, स्टीम शावर, जिम र बिलियर्ड कोठा छन् ।

घर बेच्ने व्यक्तिलाई दम्पतीले मुद्दा हालेका छन् । पानी चुहिँदा स्वास्थ्यमा असर पार्ने र स्वास्थ्य बिग्रन सक्ने उनीहरुले उजुरीमा उल्लेख गरेका छन् । रिपोर्टका अनुसार प्रियंका र निकले मे २०२३ मा घर बेच्ने बिक्रेताविरुद्ध मुद्दा हालेका थिए । जबदेखि सम्पत्ति खरिद गरिएको थियो, त्यहाँ स्पा र पूलमा समस्या आउन थालेको थियो । घरको धेरै भागमा लेउ लाग्ने समस्या पनि देखिन्थ्यो । त्यसयता घरको बार्बेक्यु क्षेत्रमा पानी चुहने समस्या पनि सुरु भएको थियो ।

यस समस्याबाट भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने दम्पतीले माग गरेका छन् । साथै, क्षतिग्रस्त वस्तुको मर्मत खर्चका लागि क्षतिपूर्तिको माग गरिएको छ । यो घरको मर्मत गर्न करिब १५ लाख डलरदेखि २५ लाख डलर लाग्ने बताइन्छ ।

अहिले प्रियंका र निक छोरीलाई लिएर अर्को घरमा बसेका छन् । चुहावटको समस्या समाधान नभएसम्म उनीहरु अर्को घरमा बस्नेछन् । यद्यपि प्रियंका र निक आफ्नो कामको लागि संसारभर घुमिरहन्छन् । तर दम्पतीको घर लस एन्जलसमा छ, जहाँ उनीहरू दुवै विगत केही वर्षदेखि सँगै बस्दै आएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech