फिल्मी फण्डा । अभिनेता दयाहाङ राईले अबको एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् । अभिनय गर्नुपर्ने धेरै फिल्म थुप्रिएका कारण उनले सो निर्णय लिएका हुन ।
‘मैले अभिनयका लागि सहमति जनाएको घोषणा हुन बाँकी ५ फिल्म छन् । त्यसपछिका अन्य फिल्म साइन गर्दिनँ,’ दयाहाङले भने, ‘साथीभाइको मुख हेर्दाहेर्दै धेरै फिल्म थुप्रियो ।’ दयाहाङले आफ्नो अभिनय रहेको फिल्मको सङ्ख्या धेरै भएकोले अब केही कम गर्ने सोच समेत राखेको सुनाए ।
बिहीबार फिल्म ‘दयारानी’को प्रेस मिटमा दयाहाङले फिल्म ‘दयारानी’ले दर्शकका लागि नौलो स्वाद हुने सुनाए । ‘फिल्म सन्तान नभएका श्रीमान् श्रीमतीबिचको कथा हो’, राइले थपे, ‘यसले सन्तान नभएका श्रीमान् श्रीमतीका लागि सन्ताको उपाय समेत खोज्छ ।’
‘दयारानी’ आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । यो मितिमा दायहाङको अर्को फिल्म ‘हात्ती छाप’ पनि रिलिज हुँदै छ । एउटै मितिमा आफ्नो दुई वटा फिल्म रिलिज हुँदा प्रेसर र अप्ठ्यारो के फिल्म हुन्छ ? कार्यक्रममा उनलाई पत्रकारको प्रश्न थियो । जवाफमा उनले प्रचार प्रसारमा अहिले केही प्रेसर भए पनि अन्य कुरो सहज भएको बताए ।