हलिउड मापदण्डमा बनेको फिल्म  ‘भूठान’को छायांकन सकियो

फिल्मी फण्डा । निर्देशक विनोद पौडेलको नयाँ फिल्म ‘भूठान’को छायांकन अमेरिकाको ओहायोमा सकिएको छ । छायांकन सकेर नेपाली अभिनेता हरिवंश आचार्य र दयाहाङ राई स्वदेश फर्किएका छन् ।

प्रसिद्ध हलिउड अभिनेता ब्रुस डर्नले समेत अभिनय गरेको यो फिल्मको अंग्रेजी नाम ‘द वर्ल्ड ह्यापिएस्ट म्यान’ राखिएको छ । तेस्रो देश पुनर्वासमा पुगेका भुटानी शरणार्थीको कथावस्तु समेटिएको यो फिल्मबाट पूजा चन्द र ऋचा घिमिरेले पुनरागमन गरेका छन् ।

भारतीय अभिनेत्री अनुराधा मजुमदारसहित नेपाली कलाकार भुवन प्याकुरेल, अदिती प्याकुरेल र कौशिला खनाल पनि फिल्ममा छन् । ‘साँघुरो’ फेम्ड निर्देशक जोयश पाण्डे र नाटक निर्देशक विमल सुवेदी पनि अभिनेताका रुपमा यसमा छन् ।

हलिउडको अन्तर्राष्ट्रिय मापदण्डमा रहेर फिल्म बनाइएको निर्माताद्वारा प्रेषित विवरणमा उल्लेख छ ।

‘यो नेपालको लागि पहिलो युनियन स्याग फिल्म हुनेछ । यसमा बुरस डर्न मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिक पनि जोडिएका छन् ।

म्याड मंकी फिल्म्सले निर्माण गरेको यो फिल्ममा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोज र नेपालबाट अवेकन प्रोडक्सन कम्पनी सहकार्य गरेका छन् । यसका कार्यकारी निर्मातामा कौशिला खनाल कर्मचार्य, एलएन अधिकारी, अपार श्रेष्ठ र रमेश भट्ट छन् । निर्मातामा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा छन् ।

यो फिल्म सन् २०२४ को अन्त्यसम्म दर्शकसामु ल्याउने र विश्वव्यापी रुपमा प्रदर्शन गर्ने योजना रहेकको जनाइएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech