फिल्मी फण्डा । महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्याएका छन् ।देवकोटाको नाटक 'सावित्री सत्यवान्'मा रहेको 'आकाशमा शशी छन्' गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिएका छन् ।शुक्रबार मैतीदेवीमा रहेको देवकोटा सङ्ग्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा. कृष्णहरि बरालले उक्त गजलको भिडियो लोकार्पण गरे ।
सार्वजनिक गजलबारे कवि, समालोचक घनेन्द्र ओझाले टिप्पणी गरे । ओझाले महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताए । झण्डै सय वर्षअघि लेखिएको देवकोटाको गजल पूर्णत: शास्त्रीय संरचनामा रहेको बताउँदै ओझाले महाकविको गजल रेकर्ड भएर आउनु समग्र गजल प्रेमीका लागि खुसीको कुरा भएको उल्लेख गरे । नयाँ र कीर्ति रहने खालका काम गर्न रुचाउने सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले यस्ता अन्य कामहरू पनि गरिरहेका भन्दै ओझाले नेपाली गजल लेखनमा शास्त्रीयताको खोजी व्यापक बनिरहेका बेला सङ्गीत र गायनमा पनि शास्त्रीय गजलहरूलाई ल्याउने श्रेष्ठको कदमको सराहना गरे ।
महाकवि देवकोटाका सुपुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सिर्जनालाई सङ्गीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुसी व्यक्त गरे ।सङ्गीतकार श्रेष्ठले आफूले अग्रज स्रष्टालाई सम्मान गर्न तथा गजललाई गायनमा ल्याउने प्रयासमा महाकविको गजललाई रेकर्ड गरेको बताए । सङ्गीतमै समर्पित हुनुका कारण पनि स्रष्टा र सङ्गीतलाई जोड्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख अतिथि प्रा.डा. कृष्णहरि बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेलापारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा प्रसन्नता जनाए । अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो पनि बनाउँदै गएको उल्लेख गर्दै बरालले देवकोटाको कृतित्वबारे चर्चासमेत गरे ।कार्यक्रममा महाकवि देवकोटाकी सुपुत्री अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो ।हेम प्रभास अधिकारीले निर्देशन गरेको तथा वीरेन्द्र भाट 'विपिन'ले छायाङ्कन र सम्पादन गरेको भिडियोमा श्रेष्ठ स्वयंले अभिनय गरेका छन् । गजल युट्युब च्यानल गोल्डेन क्रियसनबाट पनि सार्वजनिक गरिएको छ ।