फिल्मी फण्डा । गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म 'दिमाग खराब' भोली (शुक्रवार) देखि निर्माण कम्पनीले हलबाट चलिरहेकै अवस्थामा उतार्ने चेतावनी दिएको एक दिन मै फिर्ता गरेका छन् । विशेष गरि दुईवटा प्रस्ताव राखेर फिल्म उतार्ने भन्दै निर्माण कम्पनी सिनेमा आर्ट र ब्ल्याक हर्स पिक्चर्सले संयुक्त विज्ञप्ती जारी गरेको थियो ।
विदेशी फिल्मलाई बढि शो दिएको र सेयर बाँडफाँड बराबर हुनुपर्ने दुई वटा माग राखेको दिमाग खराब टिमले वार्ता जारी रहने भन्दै मंसिर ५ गतेसम्म फिल्मको प्रदर्शन नरोक्ने भन्दै चलचित्र संघसँग अनुरोध गरेका छन् । 'दिमाग खराब' टिमको अनुरोध पछि मौखिक रुपमा केही सहमति जनउँदै फिल्मको प्रदर्शन मंसिर ५ सम्म नरोक्ने जानकारी चलचित्र संघले विज्ञप्ती मार्फ जानकारी दिएको छ ।
हिन्दी फिल्म 'टाईगर' लाई ६० प्रतिशत शो दिएर नेपाली फिल्मलाई ४० प्रतिशत मात्रै शो दिएको विषयमा 'दिमाग खराब' टिमले प्रश्न उठाएका थिए । यस्तै फिल्म प्रदर्शन गर्दा पहिलो हप्ता र दोश्रो हप्ता ५० प्रतिशत दरले सेयर वितरण हुने तर तेश्रो हप्ताबाट हललाई ६५ प्रतिशत र निर्मातालाई ३५ प्रतिशत मात्रै सेयर वितरण हुने हुँदा फिल्म रिलिज भएसम्म सेयर बराबर हुनुपर्ने माग पनि फिल्म 'दिमाग खराब'को थियो ।
विहीवार चलचित्र संघ पुगेर छलफलमा बसेको 'दिमाग खराब' टिमले दुबै मागलाई सम्बोधन नगरेकै अवस्थामा मंसिर ५ सम्म रिलिज नरोक्ने सहमति गरेको हो । चलचित्र संघले जारी गरेको विज्ञप्तीमा मंसिर ५ सम्म फिल्मको रिलिज नरोक्ने बाहेक अन्य जाकारी दिएका छैनन् ।
के हो वास्तविकता ?
७ बर्ष भन्दा बढि विश्राम पछि निर्देशक निश्चल बस्नेतले फिल्म 'दिमाग खराब' निर्देशन गरेका हुन् । फिल्मको घोषणा र छायाँकन देखि नै चर्चा तिब्र थियो । रिलिजको समयमा पनि विभिन्न देश तथा डिजिटल अधिकार महँगोमा बिक्री गरेको फिल्म 'दिमाग खराब'को इनिसियल व्यापारलाई लिएर ठूलै अपेक्षा गरिएको थियो ।
कार्तिक २४ गते शुक्रवारबाट फिल्म रिलिज भयो । अपेक्षा गरे अनुसारको इनिसियल व्यापार हुन सकेन । केही ठाउँमा बाहेक अधिकांश हलमा फिल्म हाउसफूल समेत हुन सकेन । यस पंक्तिकारले समेत तेश्रो दिन इनि सिनेमाको लोत्से सिनेमामा फिल्म हेर्दा ६० प्रतिशत भन्दा बढि अकुपेन्सी थिएन । हलसँग बुझ्दा ६५ प्रतिशत भन्दा अकुपेन्सी नरहेको बताइयो ।
चौथौं दिन देखि फिल्मको माउथ पब्लिसिटी राम्रो भयो । आम दर्शकमा फिल्मको कुराकानी चर्चा शुरु भयो । 'टाइगर ३' पनि रिलिज भइरहेकोले पहिलो हप्ता सलमानको दबदबा हुने नै भयो । इनिसियल व्यापार गरिरहेको 'टाइगर'ले उच्च शो पाए । दोश्रो हप्ताबाट टाइगर ३ को शो घट्ने निश्चित नै थियो । त्यसमा पनि 'दिमाग खराब'को माउथ पब्लिसिटीले फिल्मलाई दोश्रो हप्ता राम्रो हुने अनुमान पनि थियो ।
त्यहि बीचमा निर्माण टिमले फिल्म उतार्ने विज्ञप्ती निकाले । त्यसमा २ वटा माग राखिएको थियो । एउटा माग वारे अर्थात सेयर बाँडफाँडमा निर्मातालाई पहिले नै थाहा थियो । अर्को माग शो को विषयमा । मल्टिप्लेक्सले विदेशी ठूलो फिल्म भएसम्म नेपाली फिल्मलाई कम शो दिएको उदाहरण पहिले देखि कै निरन्तरता हो । तर नेपाली फिल्मको शो राम्रो हुँदै गएपछि शो थपेको उदाहरणहरु पनि छ । पछिल्लो समय रिलिज भएको 'परदेशी २' यसका उदाहरण हुन् ।
सेयरमा चित्त नबुझेको भए निर्माण टिमले पहिले नै फिल्म रिलिज अघि माग राख्थे वा दुई हप्ताका लागि मात्र रिलिज सम्झौता गर्थे । रिलिजको बीचमा निर्माण कम्पनीले राखेको माग र मागको सुनवाई विना फिल्म निरन्तर मंसिर ५ सम्म रिलिज गर्ने सहमतिले फिल्म चलाउन गरेको फण्डा मात्रै हो की भने धेरैलाई लागेको छ ।
निश्चल कै निर्देशन रहेको फिल्म 'लुट' पनि दोश्रो हप्ताबाट मात्र राम्रो व्यापार गरेको फिल्म हो । एकातिर रिलिजमा कमजोर शुरुवात अर्कोतिर विस्तारै माउथ पब्लिसिटी राम्रो भइरहेको अवस्थामा निर्माण टिमको यो निर्णय फिल्म चलाउने फण्डा मात्रै हुन् भन्दा फरक नपर्ला की ?