गाजा क्षेत्रको तनावबीच पपस्टार म्याडोनाले रोकिन कन्सर्ट

फिल्मी फण्डा– इजरायल–प्यालेस्टाइन तनावले यतिबेला विश्व आक्रान्त छ । हजारौंले ज्यान गुमाए, हजारौं घरबारबिहीन र लाखौं परिवार विस्थापित छन् । यो लडाइमा १० नेपालीले पनि मृत्युवरण गरे ।

यो सबै देखेर पपस्टार म्याडोनाको मन दुखेको छ । हालै उनले आफ्नो कन्सर्ट रोकेर युद्धबारे सशक्त अभिव्यक्ति दिइन् । उनले मानिसलाई युद्धको विरोधमा उभिन आग्रह गरिन् । ‘अहिले जे भैरहेको छ, त्यो हृदयविदारक र गलत भैरहेको छ’ उनले भनिन् ।

उनले भनिन्, ‘जब म सामाजिक सञ्जाल खोल्छु, मलाई बान्ता आउला जस्तो लाग्छ । बच्चा अपहरण भइरहेको देख्छु । केटीहरुलाई बाइकबाट तानेको छ । बालबालिकाको टाउको काटिएको छ । शान्तिको प्रार्थना गरिरहेका बालबालिकालाई गोली हानेर मारिएको छ । मानिस एकअर्काप्रति यति निर्दयी कसरी हुन सक्छन् रु यसबाट म त्रसित भएकी छु ।’

प्रसिद्ध लेखक जेम्स बाल्डविनबाट प्रेरित म्याडोनाले बालबालिकाको सुरक्षामा जोड दिइन् । ‘संसारभरका बच्चा सबैका हुन्, चाहे तिनीहरूको पृष्ठभूमि वा विश्वास भिन्न होस् ।’ उनले यी निर्दोष जीवनको रक्षाका लागि मानवताको साझा जिम्मेवारीमा जोड दिइन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech