सुरेश थापाको ‘जुनी’को टिजर सार्वजनिक, मदनकृष्णको उपस्थितिमा कलाकार सम्मानित

फिल्मी फण्डा। सुरेश थापा ‘दर्शने’को लेखन तथा निर्देशनमा बनेको सिरियल ‘जुनी’को टिजर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंस्थित जय नेपाल हलमा आयोजित स्रष्टा सम्मान कार्यक्रममार्फत सिरियलको टिजर सार्वजनिक गरिएको हो ।


कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए । प्रष्ट मिडिया प्रालिको आयोजनामा पछिल्लो समय टेलिसिरियलमा सक्रिय कलाकार तथा स्रष्टालाई सम्मान गरिएको थियो । श्रेष्ठले सम्मानित कलाकारलाई सम्मानपत्र वितरण गरेका थिए ।


सम्मानित हुनेमा निर्देशक दीपक आचार्य ‘काकु’, दमन रुपाखेती, ‘हर्के हल्दार’का निर्देशक इन्द्र डोङ लामा, कलाकार विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशन्नसा कार्की, सरोज घिमिरेलगायत थिए ।


सामाजिक कथामा आधारित ‘जुनी’को टिजर सिनेमाको टिजर शैलीमा तयार पारिएको छ । सिरियलमा कमला घिमिरे र रञ्जित पौडेल मुख्य भूमिकामा छन् ।


अन्य कलाकारमा विष्णु सापकोटा ‘हर्के हल्दार’, अशोक शिवाकोटी, यादव देवकोटा ‘सरापे’, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियाशील, रोहित कार्की, सुस्मा सिलवाल, राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की, सपना त्रिपाठीलगायत छन् ।

बाल कलाकारमा सोफिया त्रिपाठी र आदर्श कार्की रहेका छन् ।टिजर सार्वजनिक कार्यक्रममा निर्देशक थापाले अहिले चलिरहेका सिरियलभन्दा फरक प्रस्तुति दिने प्रयास गरेको बताए ।


“सिरियलमा ड्रामा एकदमै कम छ । वास्तविक कथा बढी छ । यो घटना सिरियलमा हुन्छ या हुँदैन भनेर बनाइएको कथा हो,” उनले भने ।


निर्देशक थापाले अन्य सिरियलजस्तै ‘जुनी’लाई पनि दर्शकले साथ दिनेमा आफू विश्वस्त रहेको बताए । उनका अनुसार सिरियलको पहिलो चरणमा ५२ एपिसोड प्रसारण गरिनेछ । सिरियलको प्रसारण मिति भने सार्वजनिक गरिएको छैन । छिट्टै प्रसारण मिति घोषणा गरिने उनले बताए ।


प्रष्ट मिडिया प्रालिको प्रस्तुतिमा बनेको सिरियलका निर्माता विज्ञान सापकोटा र सौगात छेत्री हुन् । मुख्य सहायक निर्देशकमा योगेश भण्डारी रहेका छन् ।


सञ्जय राई र विष्णु भण्डारीले छायांकन गरेको सिरियलको सम्पादन तथा कलरको काम विनोद बमले गरेका हुन् ।


सिरियलको शीर्ष गीत निर्देशक सुरेश थापाकै शब्द, भीम बिसीको संगीत तथा संगीत संयोजनमा तयार भएको छ । गीतमा सुरज पण्डित र अस्मिता अधिकारीको स्वर रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech