फिल्मी फण्डा । आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।
‘ककाकिकी’को सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको छ । गीतमा अर्जुन सापकोटाकै संगीत तथा हुकलाइन रहेको छ भने शब्द सन्तोष सापकोटाले लेखेका हुन् ।
सार्वजनिक गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक सेलिब्रेसनको माहोल प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायत कलाकारलाई देख्न सकिन्छ ।
भिडियोमा गायक अर्जुन सापकोटासँगै पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले पनि नृत्य गरेका छन् । गीतको कोरियोग्राफी मिग्मा डि लेप्चाले गरेका हुन् ।
जर्सिङ पौवामा छायांकन गरिएको गीतको भिडियो फिल्मकै कथाअनुसार गाउँमा भइरहेको उत्सवको दृश्यमा तयार पारिएको हो । गीत सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ ।
सामाजिक सञ्जालमा दर्शकले गीतको प्रशंसा गर्दै ‘ककाकिकी’ हेर्न आतुर रहेको प्रतिक्रिया दिएका छन् ।
निर्देशक बिक्की अगरवालका अनुसार गीतले फिल्मको ग्रामीण परिवेश र उत्सवमय वातावरणलाई प्रतिनिधित्व गर्छ । सार्वजनिक गीतले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाउने निर्माण पक्षको विश्वास छ ।
‘ककाकिकी’मा दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ ।
सुदीप बरालको छायांकन रहेको फिल्मको पटकथा निर्देशक अगरवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन् । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्मलाई सेभेन सिज इन्टरनेशनल फिल्म्सले विश्वव्यापी रूपमा रिलिज गर्दैछ ।