‘पाँच पाण्डव’को ट्रेलर–२ मा सभ्य समाज निर्माणको अभियान

काठमाडौं। फिल्म ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा फिल्मका मुख्य पात्रले आफ्नो भूमिका र उद्देश्य प्रस्ट्याउने प्रयास गरेका छन्। ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य छन्। पूरै ट्रेलर उनकै वरपर घुमेको छ।

पृथ्वीमा रहेका आफ्ना भाइहरू दुःखमा रहेको थाहा पाएपछि युधिष्ठिर अर्थात् हरिवंश पृथ्वीलोक आइपुग्छन्। समस्यामा परेका भाइहरूलाई कसरी मुक्त गराउने भन्ने उनको मुख्य उद्देश्य देखिन्छ।

हरिवंशले भीम, अर्जुन, सहदेव भन्दै पात्रहरूको नामकरण गरेर आफ्ना चार भाइ बनाउँछन्। त्यसपछि समस्यामा परेकाहरूलाई सहयोग गर्दै अन्याय र सामाजिक विकृतिविरुद्ध उभिन्छन्। ट्रेलरमा उनी समस्यामा परेकाहरूको उद्धारकका रूपमा प्रस्तुत भएका छन्।

क्यासिनोमा छोटा कपडा लगाएकी युवती देखेपछि उनको शरीर ढाकिदिने दृश्य पनि ट्रेलरमा छ। यसले सभ्य समाज निर्माण गर्नुपर्ने उनको सोचलाई संकेत गर्छ।

अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइले गर्ने संघर्ष र विद्रोह ट्रेलरमा देखाइएको छ। फिल्मको मुख्य कथ्य पनि यही रहेको ट्रेलरले संकेत गर्छ।

यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन्। ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन्।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय छ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन्। उनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्।

‘पाँच पाण्डव’को कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन्। लेखक पौडेलले फिल्मलाई सोसल ड्रामा बताएका छन्। उनका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्ब प्रयोग गर्दै फिल्मले समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

फिल्मलाई श्याम तामाङले छायांकन गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन रहेको फिल्ममा सम्राट बस्नेत फाइट डाइरेक्टर छन्। गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्।

फिल्ममा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउने निर्माण टिमले जनाएको छ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ। रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर छन्।

ओएसआर डिजिटल फिल्मको डिजिटल पार्टनर हो। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले फिल्मलाई देशव्यापी वितरण गर्नेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech