‘आ बाट आमा’, ‘नरसिमा’, ‘पार्वती’, ‘आउटल’ हुँदै प्रदर्शनको तयारीमा रहेको बहुप्रतीक्षित पारिवारिक फिल्म ‘आ बाट आमा २’ सम्म आइपुग्दा सम्पादक साहिल खानले करिब २० वटा फिचर फिल्मको पूर्ण सम्पादन गरिसकेका छन्। ४५० भन्दा बढी टिजर तथा ट्रेलर सम्पादन गरिसकेका खानका लागि पूर्ण फिल्म सम्पादन र टिजर–ट्रेलर निर्माण दुई फरक कलात्मक विधा हुन्।
फिल्म सम्पादनको प्राविधिक तथा सिर्जनात्मक पक्षबारे आफ्नो अनुभव सुनाउँदै खानले पूर्ण फिल्म सम्पादनका लागि समय, धैर्य र टिमसँगको बहुपक्षीय समन्वय आवश्यक पर्ने बताए।
उनका अनुसार फिल्म सम्पादनका क्रममा स्क्रिप्टको मर्म, कथाको न्यारेसन, निर्देशकको दृष्टिकोण र सम्पादकको आफ्नै दृष्टिकोणबीच निरन्तर संवाद आवश्यक हुन्छ।
“फिल्म सम्पादन गर्न लामो समय लाग्छ। स्क्रिप्टको मर्म समात्नुपर्छ, निर्देशकको भिजनसँग तालमेल मिलाउनुपर्छ र दर्शकको आँखालाई कतै नबिझाउने गरी दृश्यको प्रवाह मिलाउनुपर्छ। हरेक दृश्य, भावना र कथाको गतिमा निर्देशक तथा लेखकसँग गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने भएकाले फिल्म सम्पादन निकै अनुशासित, जिम्मेवार र जटिल विधा हो,” खानले भने।
तर टिजर तथा ट्रेलर सम्पादनमा भने सम्पादकले आफ्नो व्यक्तिगत सिर्जनशीलतालाई तुलनात्मक रूपमा बढी स्वतन्त्र ढंगले प्रयोग गर्न पाउने उनको अनुभव छ।
“टिजर–ट्रेलर काट्दा आफ्नो व्यक्तिगत क्रिएटिभिटी लगाउन पाइन्छ र यसमा काम गर्दा छुट्टै मजा आउँछ। सीमित समयभित्र फिल्मका उत्कृष्ट पार्ट छानेर दर्शकको ध्यान तान्ने र कौतुहलता जगाउने गरी दृश्य भाषा निर्माण गर्न पाइने भएकाले यसको सिर्जनात्मक प्रक्रिया निकै रोमाञ्चक हुन्छ,” उनले भने।
पहिलो भाग ‘आ बाट आमा’ को सम्पादनसमेत गरेका खानले उक्त फिल्मले बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको बताए। हाल उनी ‘आ बाट आमा २’ को अन्तिम सम्पादनमा व्यस्त छन्।
फिल्मको टिजर र पहिलो गीत ‘अचेल किन कान्छी’ ले युट्युबमा ५० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको बताइएको छ।
टिजरमा सिर्जनात्मक प्रयोगमार्फत दर्शकको ध्यान तान्न सफल भएको दाबी गर्दै खानले पूर्ण फिल्ममा पनि स्क्रिप्ट, भावना र दृश्य प्रवाहबीच सन्तुलन कायम गरिएको बताए।
चन्द्र पन्तको निर्देशन तथा पल शाह र मलिका महतको मुख्य अभिनय रहेको ‘आ बाट आमा २’ आगामी असोज ३० गते बडादशैँको अवसरमा देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ।