गत साउन २२ गतेदेखि देशव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म ‘हली’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। ५१औँ दिनको अवसरमा शनिबार धनकुटास्थित ‘धनकुटा सिनेमा प्रालि’मा विशेष कार्यक्रम आयोजना गरिएको थियो।
५१ दिन पूरा गरेको खुसीयालीमा दर्शकसँग प्रत्यक्ष भेटघाट तथा साक्षात्कार गर्न फिल्मका निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठसहित कलाकारको टोली धनकुटा पुगेको थियो।
निर्माता पूजा गुरुङले दर्शकको माया र साथकै कारण ‘हली’ले हलमा ५१औँ दिन मनाउन सफल भएको बताइन्।
‘दर्शकको अपार माया र साथकै कारण ‘हली’ले हलमा ५१औँ दिन मनाउन सफल भएको हो। त्यसैले दर्शकलाई प्रत्यक्ष धन्यवाद दिन र खुसी साटासाट गर्न हामी धनकुटा आएका हौँ,’ उनले भनिन्।
‘एउटा हलीले पनि देशको मुहार बदल्न सक्छ’ भन्ने सकारात्मक सन्देश बोकेको फिल्ममा छाउपडी प्रथाका क्रममा २१ दिनसम्म बुवा वा पुरुषको अनुहार हेर्न नहुने अन्धविश्वास तथा सामाजिक कुसंस्कारको कथा प्रस्तुत गरिएको छ।
ओमप्रतिकको लेखन तथा निर्देशन रहेको फिल्ममा व्यवसायी पूजा गुरुङ र जस्मिन श्रेष्ठको संयुक्त लगानी रहेको छ।
फिल्ममा सरोज खनाल, अरुणा कार्की, प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायतका कलाकारको मुख्य अभिनय रहेको छ।