फिल्मी फण्डा । असोज ९ गते शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘बा : एक योद्धा’ले काठमाडौंमा आयोजित प्रिमियरमा उत्साहजनक प्रतिक्रिया पाएको छ। मंगलबार साँझ सम्पन्न प्रिमियरमा सहभागी कलाकार, फिल्मकर्मी तथा पत्रकारहरूले फिल्मले नेपाली समाजका धेरै परिवारको यथार्थलाई प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन्।
फिल्मले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र बुढेसकालमा सन्तानबाटै भोग्नुपर्ने उपेक्षा तथा पीडालाई कथाको केन्द्रमा राखेको छ। रोजगारी तथा अध्ययनका लागि सन्तान विदेशिने क्रम बढिरहेका बेला घरमा रहेका बुवाआमाको एक्लोपन र पारिवारिक दूरीको विषय फिल्ममा उठाइएको छ।
प्रिमियरपछि अभिनेता हरिवंश आचार्यले फिल्मले आफूलाई भावुक बनाएको बताए। उनले दिव्यदेवको अभिनयको प्रशंसा गर्दै फिल्मको कथा र प्राविधिक पक्ष पनि राम्रो रहेको प्रतिक्रिया दिए।
‘मलाई फिल्म राम्रो लाग्यो। रुन मन लाग्यो। सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ,’ उनले भने।
पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले फिल्मको कथा, प्रस्तुति र सन्देश प्रभावकारी रहेको बताए। अभिनेत्री ऋचा शर्माले फिल्मलाई ‘मिठो’ भन्दै दिव्यदेवको अभिनयको विशेष प्रशंसा गरिन्। अभिनेत्री पुष्पा थिङ लामाले पनि फिल्मले आफूलाई भावुक बनाएको बताइन्।
हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्। शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मलाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।
‘बा : एक योद्धा’ असोज ९ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ।