काठमाडौं । बलिराम चौहानको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त गरिएको छ। निर्माण टिमले ललितपुरस्थित कार्यविनायक मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरेको हो।
मुहूर्त कार्यक्रममा निर्देशक चौहान, निर्माता भोलानाथ कटुवालसहित फिल्मका अधिकांश मुख्य कलाकार सहभागी थिए।
निर्देशक चौहानका अनुसार फिल्मको छायांकन बुधबारदेखि काठमाडौंको लाजिम्पाटबाट सुरु हुनेछ। ३५ दिनको छायांकन तालिका तय गरिएको फिल्मको छायांकन काठमाडौंसँगै झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने फिल्मको स्लोगन ‘हरेक युवाको कथा’ राखिएको छ। नेपाली युवापुस्ताले साथीभाइबीचको अनावश्यक किचकिच, एउटै विषयमा बारम्बार दिइने दबाब वा मानसिक तनावलाई जनाउन प्रयोग गर्ने ‘ल्याङ्ग ल्याङ्ग’ शब्दलाई फिल्मको शीर्षक बनाइएको हो।
निर्देशक चौहानका अनुसार फिल्मले युवापुस्ताको यही जीवनशैली र उनीहरूको दैनिक जीवनमा आउने उतारचढावलाई कथाको केन्द्रमा राखेको छ।
‘सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ,’ चौहानले भने, ‘विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्नेछौं।’
फिल्ममा रिहान गिरी, सन्तोष बानियाँ, जीवन जंग बस्न्यात, गुराँस ढकाल, प्रज्वल दुलाल, बिनोद सिंह थापा, सुप्रिया खनाल, हिउँवाला गौतम, सवी थापा, श्रेया श्रेष्ठ, सुगम दुलाल र सिर्जना बानियाँलगायत कलाकारको अभिनय रहनेछ।
फिल्मको कथा बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा तयार पारेका हुन्। भोलानाथ कटुवालको लगानीमा स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा रवी रोक्काको छायांकन रहनेछ।
फिल्ममा अर्जुन पोखरेल, प्रशान्त शिवाकोटी र अभिषेक निरौला (एनमक्स)को संगीत, महेश मगरको प्रोडक्सन व्यवस्थापन, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइन, साश्वत श्रेष्ठको बीजीएम तथा मित्र डी गुरुङको सम्पादन रहनेछ।